ब्रजिलमा दासत्वको नयाँ स्वरूप, के यो प्रथा पुनरागमन हुँदैछ?

देशको सर्वाधिक ठूलोमध्ये एक वाइन (मदिरा) उत्पादक संलग्न मानव श्रम शोषणसम्बन्धी घटना लामो समयदेखि आधुनिक दासत्वविरुद्ध चलिरहेको लडाइँको पछिल्लो उदाहरण हो।

ब्रजिलमा दासत्वको नयाँ स्वरूप, के यो प्रथा पुनरागमन हुँदैछ?
  • फर्न्यान्डो डुआर्टे
  • Role,बीबीसी विश्व सेवा
  • Twitter,

सन् २०२३ को पहिलो तीन महिनामा मात्र ब्रजिलका अधिकारीहरूले जबरजस्ती श्रम गराइएका ९०० भन्दा बढी मानिसहरूको उद्धार गरेका थिए।

गत फेब्रुअरी २२ का दिन प्रहरीले एउटा अङ्गुर फार्मबाट २०० जना पुरुषको उद्धार गर्‍यो।

ती पुरुषहरूलाई जर्बजस्ती काममा लगाइएको थियो, हिंसामा पारिएको थियो र असाध्यै “नराम्रो अवस्थामा” राखिएको थियो। “वाइन दास” काण्ड ब्रजिलमा रहेको आधुनिक दासत्वको एउटा मात्र घटना होइन।

लहरे खोकीबाट ग्रसित नेकोले कष्टकर अङ्गुर टिप्ने काममा सामेल हुनु नपरोस् भन्ने हेतुले आफूसहित अन्य १५ जना बस्ने कोठा छोडेर स्वतन्त्रताको निम्ति भाग्ने विचार समेत गरे। उनले त्यसका लागि आफूसँग पर्याप्त ऊर्जा छ भन्ने ठानेका थिए तर उनले यो अवसर गुमाए।

“मैले आफूसँग ल्याएका साथीहरूलाई छाडेर हिँड्न सकिनँ,” उनले खोक्नका लागि केहीबेर रोकिएर साल्भाडोरस्थित आफ्नो घरबाट बीबीसीसँग सुनाए।

नेकोले अङ्गुर टिप्ने कामका लागि ४७ जना मानिस जम्मा गर्न मद्दत गरेका थिए। उनीहरू सबैले साल्भाडोरदेखि बेन्टो गोन्काल्भ्ससम्मको करिब ३,००० किलोमिटर दूरी तीन दिन लामो बस यात्रामार्फत् पूरा गरेका थिए।

उनीहरू सबैलाई निःशुल्क खाने, बस्ने व्यवस्था र दुई महिना लामो कामका लागि लगभग ७७० अमेरिकी डलर दिने वाचा गरिएको थियो। मासिक न्यूनतम २५० डलर भएको साल्भाडोरका यी कामदारहरूका लागि त्यो निकै आकर्षक रकम थियो।

तर झट्ट हेर्दा निकै आकर्षक देखिएको उक्त अवसर छिटै नै भयावहमा परिणत भयो।

"हामीलाई पुग्ने बित्तिकै आराम पनि गर्न नदिई काममा लगाइयो। मलाई त्यति बेला नै केही पक्कै गलत छ भन्ने लाग्यो," नेकोले भने।

यातनाको हद

त्यसपछि १५ घण्टा लामो काम गर्नुपर्ने शिफ्ट, औसत भन्दा पनि निम्न स्तरको खाना र धम्कीहरू आउन थाल्यो। कामदारहरूलाई भाग्न नदिन रातको समयमा पहरा दिने गरिन्थ्यो।

चौकीदारहरूले झिसमिसेमै कामदारहरू खचाखच सुतेको कोठामा आएर सबैलाई काममा जान निर्देशन दिन्थे।

नेकोका अनुसार ती चौकीदारलाई नटेर्ने वा गुनासो गर्ने कामदारहरूलाई कुटाइ र विद्युतीय झट्कासहित धम्की दिइन्थ्यो।

त्यसैले पानीमा भिज्दै काम गर्दा चिसो लागेर छातीको निकै खराब सङ्क्रमण हुँदा पनि उनी चुपचाप काममा गए।

अङ्गुरको खेती

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,

ब्रजिलको वाइन उत्पादन हुने केन्द्रीय भूभागमा दासत्वबारे घटना भएको हो

“उनीहरूले झट्का दिन एउटा वस्तु बोक्थे र हामीलाई करेन्ट लगाएर ओछ्यान उठाउने धम्की दिन्थे,” उनले भने।

“तीमध्ये केहीले त्यो वस्तु हामीमाथि प्रयोग गर्न ‘आतुर रहेको’ बताउँदै अट्टहास गर्थे।”

१८ देखि ५४ उमेर समूहका नेकोसहित अन्य २०५ कामदारहरूलाई प्रहरीहरूको संयुक्त कार्यदलले २२ फेब्रुअरीमा आधुनिक दासत्व पीडितको रूपमा उद्धार गरेको थियो।

६०,००० दासहरू

तर स्थानीय मिडियाले "वाइन दासत्व घोटाला" को रूपमा चित्रण गरेको यो प्रकरण ब्रजिलमा हुने आधुनिक दासत्वको दुर्लभ घटना भने होइन।

सन् १९९५ यता ब्राजिल सरकारले आफ्ना भूभागहरूमा यस्ता अभ्यासहरू हुने गरेको स्वीकार गरेको छ। श्रम मन्त्रालयको आँकडा अनुसार करिब ६०,००० भन्दा बढी व्यक्तिहरूको अमानवीय अवस्थाबाट उद्धार गरिएको छ।

तर ब्रजिलमात्र यो समस्यासँग जुधिरहेको राष्ट्र भने होइन। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को आकलन अनुसार सन् २०२१ मा विश्वभर २ करोड ८० लाख मानिसहरू जबरजस्ती श्रममा कार्यरत थिए।

उखु काट्दै एक श्रमिक

तस्बिर स्रोत,MPT

तस्बिरको क्याप्शन,

ब्रजिलको कृषि व्यवसायमा दासत्वले प्रश्रय पाएको ठानिएको छ

ब्रजिलको बाहिया राज्यमा दास प्रथा विरोधी सरकारी निकायका संयोजक एडमर फोन्टेसले सोही राज्यबाट १९४ "वाइन मजदुरहरू" लाई सुरक्षित फिर्ता गराउनको लागि महत्त्वपूर्ण भूमिका खेलेका थिए। उनका अनुसार यस मुद्दाको महत्त्व शोषित श्रमिकको सङ्ख्याभन्दा निकै माथि छ।

“मेरो १२ वर्ष दासत्वविरुद्ध काम गर्दाको अनुभवमा, सबैभन्दा आश्चर्यजनक के रह्यो भने- श्रमिकहरूलाई धम्क्याउने मानिसहरूको आचरण सबैभन्दा हिंस्रक भएको पाएँ।”

कोभिड-१९ महामारी र युक्रेन युद्धपछि ब्रजिलको अर्थतन्त्र धराशायी भएपछि काम लगाउने व्यक्तिहरू श्रम शोषण गर्नका निम्ति झनै प्रेरित भएको हुनसक्ने फोन्टेसको आकलन छ।

प्रतीकात्मक चित्र

तस्बिर स्रोत,GETTY IMAGES

तस्बिरको क्याप्शन,

सन् १८८८ मा दास प्रथा उन्मुलन गर्दै ब्रजिल त्यस्तो गर्ने अन्तिम पश्चिमा देश बन्यो

“जब सामाजिक जोखिम बढ्दै जान्छ मानिसहरू जुनसुकै काम गर्न पनि आतुर हुन्छन्,” उनले थप भने।

फोन्टेसले ब्रजिलका उग्र दक्षिणपन्थी भूतपूर्व राष्ट्रपति जइर बोल्सोनारुतर्फ समेत औँला सोझ्याए। किनकि विभिन्न अवसरहरूमा उनले आधुनिक दासत्व रोक्नको लागि भएका कानुनी प्रयासहरूको सधैँ आलोचना गरे।

यस्तो आशङ्का व्यक्त गर्ने फोन्टेस एक्ला होइनन्।

“ब्रजिलमा आधुनिक दासत्व बोल्सोनारुको कार्यकालमा सुरु भएको होइन तर उनले यस्तो अभ्यासलाई सार्वजनिक रूपमा कम आँके,” ब्रजिल प्रोसिक्युसन सर्भिसको वाइन मजदुरको मामिला हेर्ने जिल्ला अधिवक्ता इटलभर मेडिनाले बीबीसीसँग भने।

जातीय र शैक्षिक पूर्वाग्रह

मेडिनाले बोल्सोनारू प्रशासनले दासत्वविरोधी अभियानहरूको निरीक्षणका लागि छुट्टाइएको बजेट कटौती गरेको आरोप लगाए। पछिल्लो समय त्यस्ता अभियानहरूमा कर्मचारीको अभाव हुँदै आएको छ।

मेडिनाका अनुसार शोषणमा परेका अधिकांश व्यक्तिहरू अश्वेत वा मिश्रित समुदायका छन्। पीडितहरूमध्ये धेरै अशिक्षित छन् जसका कारण उनीहरू झुटा आश्वासन र प्रलोभनमा फस्ने सम्भावना अधिक रहन्छ। उनीहरूमध्ये ठूलो सङ्ख्या पुरुषहरूको छ।

टायन डोस स्यान्टोस अपवाद हुन्। उनी १७ वर्षको उमेरमा साओ पाओलोस्थित कफी खेती हुने स्थानमा काम गर्थिन्। भर्खरै आमा बनेकी उनलाई त्यति बेला आफ्नो सन्तानलाई खुवाउन रकम अभाव थियो र उनलाई यस कामबाट आकर्षक आम्दानी हुने बताइएको थियो।

महिलाहरू

तस्बिर स्रोत,MPT

तस्बिरको क्याप्शन,

दास प्रथाविरुद्ध विभिन्न अभियानहरू सञ्चालन भएका छन्

सन् २०२१ को जुन महिनामा उद्धार हुनुअघि उनले विना ज्याला ५० दिनसम्म कडा श्रम गरिन्।

"म एक सानो सहरमा बस्छु जहाँ सबैका लागि पर्याप्त रोजगार छैन। त्यसैले मानिसहरू अक्सर अस्थायी काम खोज्न अन्यत्र यात्रा गर्छन्," टायनले बीबीसीसँग भनिन्।

"तर कसैले मलाई मेरो अवस्था कैदीको जस्तो हुनेछ भनेर कहिल्यै भनेनन्।”

उनको यस अनुभवले उनलाई एउटा गैरसरकारी संस्था सुरुवात गर्न उत्प्रेरित गर्‍यो। यस संस्थाले उनको सहरमा अस्थायी मजदुरहरूलाई उनीहरूको अधिकारको बारेमा सचेत गर्नुका साथै उनीहरूलाई सम्भावित दासी श्रम योजनाहरू पहिचान गर्न मद्दत गर्छ।

“मेरो जस्तै नियति कसैले भोग्नु नपरोस्” उनले भनिन्।

फेरि प्रलोभनको सम्भावना

पत्रकार तथा राजनीतिक विज्ञ नटालिया सुजुकीका अनुसार शोषणविरुद्धको पहिलो रक्षात्मक कदम श्रमिकहरूको हितको रक्षा गर्नु हो।

उनी एक गैर-नाफामूलक संस्था रिपोर्टर ब्रजिलको शृङ्खलाबद्ध परियोजनाहरूको नेतृत्व गर्छिन् जसले सामाजिक अभियन्ता, शिक्षकलगायत विभिन्न पेसाकर्मीहरूलाई तालिम दिन्छ।

त्यस्ता कार्यक्रमले सम्भावित आधुनिक दासत्वबारे जानकार बनाउँछ।

उखुबारीमा श्रमिकहरू

तस्बिर स्रोत,MPT

तस्बिरको क्याप्शन,

पीडितहरू प्राय अशिक्षित छन् र जातीय पूर्वाग्रहको शिकार भएका छन्

“बाध्यकारी श्रम ब्रजिलको उत्पादनशील क्षेत्रहरूमा हाबी छ र आम मानिसहरू यसप्रति अभ्यस्त भइसकेका छन्। हामीले मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ,” सुजुकीले भनिन्।

यद्यपि, यो निकै कठिन सङ्घर्ष हो। सन् २०२३ को पहिलो तीन महिनामा ९०० भन्दा बढी मानिसलाई दास बनाइएको पाइएको थियो। श्रम मन्त्रालयको तथ्याङ्कका अनुसार सन् २०२२ मा २,५०० भन्दा बढी त्यस्ता श्रमिकहरूको उद्धार गरिएको थियो जुन सङ्ख्या एक दश अवधिमा उद्धार भएकोमध्ये सर्वाधिक हो।

श्रमिकहरूको वित्तीय अवस्था सुधार नभएसम्म उनीहरू पुनः प्रलोभनमा परी बाध्यकारी श्रममा फर्कनु असामान्य होइन। उदाहरणका लागि, बेन्टो गोन्काल्भ्समा भोगेको आघातका बाबजुद नेको कामको खोजीमा पुनः यात्रा गर्नुपर्ने स्विकार्छन्।

“मैले कोभिड महामारीयता नियमित काम पाएकै छैन। र, मैले मेरा छोराछोरीको पेट भर्नुपर्छ,” उनले भने।

*श्रमिकहरूको नाम उनीहरूको आग्रहमा परिवर्तन गरिएको छ।