खप्तड

खप्तड
खप्तड

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो । यहाँ २२ वटा पाटन र ५३ वटा थुम्काहरू तथा त्यहाँकाे साैन्दर्यले खप्तड भूस्वर्गझैं लाग्छ । 

खप्तडका फाँटमा फुलेका फूलहरू ।

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा परिचित छ । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनिहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ।

समुद्र सतहबाट ३ हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यसबेला केही हरियाली रहेको खप्तड क्षेत्र पुस महीनापछि सेताम्मे हिउँले ढाकिन्छ । जेठदेखि असारसम्म विशाल फाँटहरूमा रंगीचंगी फूलले ढाकिन्छ खप्तड ।

तर, यो वर्ष अत्यधिक हिउँ परेका कारण फूलहरू भने त्यति फुल्न सकेका छैनन् । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका प्रमुख विशेषता हुन् ।

खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।

खप्तडका फाँट

खप्तड क्षेत्रमा ठूला र साना गरी २२ वटा फाँटहरू पनि यहाँका प्रमुख आकर्षण हुन् । खप्तडको त्रिवेणीमा मनाइने गंगादशहरा मेला पनि भर्खरै सम्पन्न भएको छ ।

कसरी पुग्ने खप्तड

खप्पर दह

काठमाडौंदेखि धनगढी ६५० किमी बसयात्रा गरेपछि धनगढीदेखि डोटीको सिलगढीसम्म ८ घण्टाको बस चढ्नुपर्छ । त्यसपछि सुरु हुन्छ पैदल यात्रा । बगलेगसम्म जीप पनि चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ।

डोटीको सिलगढीदेखि शुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ ।

यहाँको पर्यटन प्रवर्द्धनमा ध्यान दिने हो भने पर्यटकका लागि खानेबस्ने लगायत आवश्यक सुविधा मिलाउन सके यो भूस्वर्गको रसास्वादन गर्न नेपालबाट मात्रै होइन विश्वकै पर्यटक ओइरिने निश्चित छ ।

 

सैपाल हिमशृंखला

 

सहस्र लिंग

आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको क्षेत्र हो खप्तड । तर, खप्तड क्षेत्रमा जाँदा पर्यटकलाई खान बस्नलाई अलि समस्या छ ।सरकारले पर्यटकीय स्थलका बारेमा नारा ल्याउँदा राम्रा राम्रा ल्याउँछ तर व्यवहारमा लागू हुन गाह्रो छ ।सरकारले देशभरबाट एक सयवटा गन्तव्य स्थल छानेको छ । त्यसभित्र खप्तड पनि पर्दछ । तर, त्यहाँ पुग्दा पर्यटकलाई के–कस्ता कुराको आवश्यक छ भन्ने सोंचेको पाइँदैन ।सरकारले पर्यटन प्रवर्द्धन गर्ने कुनै पनि नीति ल्याउँदा व्यवसायीसँग पनि सल्लाह गरेर ल्याएमा त्यो फलदायी हुने थियो । तर अहिलेसम्म यस्तो गरिएको छैन ।खप्तड होस् या अन्यत्र कुनै पनि स्थानमा पुग्ने पर्यटक सरकारको तथा पर्यटनसँग सरोकार राख्ने निकायको प्रवर्द्धनले भन्दा पनि त्यहाँ पुगेका पर्यटकको ‘माउथ टु माउथ’ प्रचार–प्रसारका कारण पुगेको लाग्छ मलाई ।

निकुञ्जभित्र होटल निर्माण गर्न कानुनीरूपमा मिल्दैन । निकुञ्जमा घुम्न पाउने तर खान र बस्न नपाउने भएकाले केही समस्या भएको छ । सरकाले निश्चित मापदण्ड बनाएर निश्चित व्यवस्था गरे राम्रो हुने थियो ।खप्तडमा मात्र नभएर समग्र देशकै पर्यटन विकास लागि राज्यले व्यवहारमुखी नीति ल्याउँदा राम्रो होला ।