भारतीय नागरिकहरुद्वारा नेपाली भूमिमा प्रवेश गरी गोलि प्रहार

एक जना घाईते

 कोसी नदीको मध्यभागमा रहेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढामा बुधबार साँझ भारतीय नागरिकहरु प्रवेश गरी गोली प्रहार गरेका छन् । करिव ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकले ५–६ राउन्ड गोली फायरिङ गरेको सुरक्षा अधिकारीहरुले बताएका छन् । गोलिको छर्रा लागेर स्थानीय बासिन्दा महेन्द्र पासमान घाइते भएका छन् । उनको घुँडामा छर्रा लागेको छ । 

मध्य कोसीमा रहेको गोबरगाढाबस्ती भारतीय सीमासित जोडिएको । सो बस्तीका गाईभैंसी चोरी गरी भारततर्फ लाने गरेकोमा पछिल्लो समय स्थानीय बिन्देश्वर रामको भैँसी चोरी भएको घटनामा स्थानीय बासिन्दाहरुले एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिई गोबरगाढामा राखेका थिए । वडाध्यक्ष कुशेश्वर यादवका अनुसार  नियन्त्रणमा राखिएका ती भारतीय नागरिकलाई छुटाउन बन्दुक र घरेलु हातहतियारसहित ३०–४० जनाको समूहमा आएका भारतीय नागरिकहरुले बस्तीमा फायरिङ गर्दै स्थानीयलाई कुटपिटसमेत गरेको र भैँसी चोरेको आरोपमा गोबरगाढावासीले नियन्त्रणमा राखेकालाई लगेको जानकारी प्राप्त भएको छ ।