यूएईलाई पराजित गर्दै नेपाल एसिया कपमा छनौट, भारत र पाकिस्तानसँग खेल्ने

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै घरेलु टिम नेपाल एसिया कपमा प्रवेश गरेको छ । योसँगै नेपालले एसिया कपमा विश्वविजेता टिम भारत र पाकिस्तानसँग खेल्नेछ ।

यूएईलाई पराजित गर्दै  नेपाल एसिया कपमा  छनौट,  भारत र पाकिस्तानसँग खेल्ने

१९ वैशाख, नेपाल। यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ ।

यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६/९ बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । सोमबार त्यहीबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी विकेट गुमायो ।

११८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालको सुरुवात भने राम्रो थिएन । दोस्रो ओभरको पहिलो बलमै ओपनर कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए, जतिबेला नेपालको स्कोर पनि एक मात्र थियो । तेस्रो नम्बरमा गुल्शन झा ब्याटिङका लागि गए । उनीसँग १८ रनको साझेदारी गरेका आसिफ शेख (८) सातौं ओभरको पहिलो बलमै आउट भए ।

कप्तान रोहितकुमार पोडेल आउट भएपछि नेपाल केही दबाबमा परेको थियो । तर गुल्शनले भीम सार्कीसँग मिलेर नेपाललाई जिताए । दुवैले चौथो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरे । ८४ बलको सामना गरेका गुल्शनले तीन चौका र ६ छक्का हाने । ७२ बलमा अविजित ३६ रन बनाएका भीमले पनि चार चौका हानेका थिए ।

एसिया कपमा स्थानी बनाएको नेपाल समूह एमा परेको छ । यो समूहमा भारत र पाकिस्तान रहेका छन् ।